शरद चिराग
सुयोङ किमले लन्डनबाट इमेल लेखी- मेरा सपनाले मलाई नेपालसम्म डोर्याउँदै छ । के तिमी मेरा सपनालाई एभरेस्ट बेसक्याम्प जाने बाटो बताइदिन सक्छौ ? 
त्यसको दुई हप्तापछि गएको शुक्रबार यो केटी दशरथ रंगशालामा थिई । उत्तर कोरिया र प्यालेस्टाइनबीच खेल सुरु हुँदै थियो । अचानक उसले एउटा प्लेकार्ड निकाली- ‘वी वान्ट युनाइटेड कोरिया ।’ खेलाडी छोडेर क्यामेराका लेन्स सुयोङतिर सोझिए । त्यसपछि के हुनु थियो, भीआईपी दीर्घामा बसेकी उसको प्लेकार्ड खोस्न एएफसीका अधिकारी आइहाले ।
३१ वषर्ीया सुन्दरी सुयोङ आफ्ना सपना पछ्याउँदै र अरूका सपना बटुल्दै काठमाडौं आइपुगेकी थिई । एभरेस्ट बेसक्याम्प पुग्ने उसको सात वर्षदेखिको सपना थियो । ‘यो मेरो ४१ औं सपना थियो । अझै ४२ वटा सपना मसँग बाँकी छन्, जुन अबका १८ वर्षमा पूरा गर्ने लक्ष्य छ ।’ सबैका सबै सपना कसरी पूरा हुन्छन् र ? हुनैपर्छ भन्ने पनि के छ ? उत्तर कोरियाली सरकारको स्वामित्वको दरबार मार्गको प्योङयाङ रेस्टुरेन्टको एउटा कुनामा बसेकी ऊ बडो दार्शनिक सुनिई, ‘मेरो साथी, सपना पछ्याएर त हेर, जिन्दगीका कथा आफैं बदलिँदै जानेछन् ।’
त्यसपछि उसले आफ्नो टिसर्ट अलिकति माथि सारी । हरे, उसका त जीउभरि खतै खत पो छन् त । मेरा आँखा उसका जीउ र रेस्टुरेन्टकी पातली उत्तर कोरियाली वेटरका आँखामा झन्डै एकैपल्ट परे, जो हामीलाई हेरेर मुस्कुराइरहेकी रहिछ ।
===
विश्वप्रसिद्ध बैंक गोल्डम्यान साक्सको कोरियाली शाखामा सुयोङले भर्खरै काम पाएकी थिइन् । त्यसका लागि उनले नौपटक अन्तर्वार्ता दिनुपर्यो । तर काम पाएको केही महिनामै उनी थलिइन् । उनको शरीरमा क्यान्सर देखियो । ‘म त्यतिबेला २४ वर्षकी थिएँ,’ उनले सुनाइन्, ‘म कसरी मर्न सक्छु प्वाँख पलाउँदै गरेका सपना उड्न नपाई ?’ धन्य ! रोग पहिलो चरणमै रहेछ । छ महिनापछि उनी निको भइन् । यो २००५ को कुरा थियो ।
त्यही बेला उनले आफ्ना ७३ वटा सपना खुट्याइन् र त्यसैको फेर समातेर युनिभर्सिटी अफ लन्डन पुगिन् मास्टर्स गर्न । पढाइ सकेकै वर्ष २००७ मा उनले लन्डनकै रोयल डच सेल कम्पनीमा म्यानेजरका रूपमा काम सुरु गरिन् । र त्यही साल कोरियनमा ब्लग लेख्न थालिन् । अन्तर्वार्ता कसरी दिने ? अन्तर्राष्ट्रिय कम्पनीहरूमा कसरी काम पाउने ? पश्चिमेलीहरूसँग कसरी काम गर्ने ? टिममा कसरी मिलेर काम गर्ने भन्ने उनको ब्लग कोरियामा खुब हिट भयो ।
त्यसपछि उनी वर्षमा चार पाँचपटक कोरिया आउजाउ गर्न थालिन् । उनलाई सुन्न जम्मा भएका प|mस्टेटेड कोरियाली युवाको भीडले लेक्चर हल भरिभराउ हुन थाले । आफ्ना सपनाको पछि लाग्दा लाग्दै यी कोरियाली सुन्दरी अब ब्लगर मात्र भइनन् इन्सिपिरेसन गुरु पनि बनिन् । र, दुई वर्षअघि उनको पहिलो किताब प्रकाशित भयो । कोरियामा डेढ लाख प्रति बिकेको यो किताबमा उनले सपना पछ्याएर इन्सिपिरेसन गुरु बन्नुअघिको आफ्नो जीवनकथा लेखेकी थिइन् ।
===
‘मेरा बाआमा निर्माण मजदुर थिए । त्यतिबेला म १० वर्षको थिएँ । कोरियामा व्यापार गर्ने खुब लहर चलेको थियो । मजदुरी छाडेर व्यापार गर्ने ध्याउन्नमा मेरा बा टाट पल्टिए । हामी रातारात क्वाङ्ग्सु गाउँ छाडेर भाग्यौं र एउटा सामुदायिक भवनको कुनोलाई घर ठानेर बस्न थाल्यौं । हामी तीन दिदीबहिनी र भाइ एउटै ब्ल्यांकेट ओढेर सुत्थ्यौं । गरिब भएकीले स्कुलमा धेरैले होच्याउँथे । १२ वर्षको उमेरमा मैले पहिलोपल्ट आत्महत्या प्रयास गरेकी थिएँ । त्यसपछि मैले हाइस्कुल पूरै नगरी पढाइ छाडिदिएँ । १४ वर्ष पुग्दा म भयंकर कठिन मोडबाट गुजि्रएँ । स्कुल छाडेपछि तीनपटक घर छोडेर भागें । दुईपटकसम्म त प्रहरीले घर फर्काइदियो । तेस्रोपटक म तीन महिनासम्म सडकमा बसें । ग्याङ्ग फाइट गर्ने केटाहरूको समूहमा पुगें । गम सुँघें । जति धेरै नराम्रा कुराहरू छन् त्यो सबै मैले त्यतिबेलै गरें । मेरो नाक अलिकति बांगो छ, ग्याङ्गफाइटका बेला कसैले चक्कु हान्दिएको थियो । जिन्दगीमा सबैभन्दा धेरै रक्सी मैले त्यतिबेलै खाएँ । सियो ताइजीको डाइहार्ट फ्यान थिएँ । त्यतिबेला खुब चलेको उसको ‘कम ब्याक होम’ गीत सुनेर म पनि घर फर्किएँ ।
घर आएपछि म भोकेसनल हाइस्कुल भर्ना भएँ । युनिभर्सिटी पढ्ने सपना थियो । माउन्ट किलिमन्जारो चढ्ने मन थियो । एभेरस्ट पुग्ने इच्छा थियो, फरारी कुदाउने रहर थियो । तर मैले त्यो सबै गर्न मेरा बाआमासँग पैसा थिएन । उनीहरूले मलाई फ्याक्ट्रीमा काम खोजिदिए । त्यहीँ काम गर्ने केटासँग उनीहरू मेरो बिहे गरिदिन चाहन्थे ।
मान्छेको जीवनमा सधैं अभाव, दुःख र पीडा मात्र हुँदैन रहेछ । धनी होस् वा गरिब, महिला होस् वा पुरुष, बच्चा होस् वा वृद्ध सबैका अगाडि अवसरका ढोका हुन्छन् । फरक यत्ति हो, त्यो ढोका खुला हुँदैन, त्यसलाई चिनेर आफैंले खोल्नुपर्छ ।
१९९९ मा म यस्तै ढोका अगाडि उभिएको थिएँ । त्यो केबीसी टीभी -कोरियन ब्रोडकास्टिङ सिस्टम) को गोल्डेन बल भन्ने क्विज प्रतियोगितामा जाने ढोका थियो । ओहो ! मेरो जिन्दगीको वास्तविक परीक्षा त्यही थियो । किनभने त्यो क्विज जित्नुको अर्थ मेरो जिन्दगी परिवर्तन हुनु थियो । हो, मैले नै जितें त्यो प्रतियोगिता । केहीअघि मुम्बई जानुअघि मैले स्लमडग मिलेनेयर भन्ने फिल्म हेरेको थिएँ । मेरो जिन्दगी त्यही फिल्मको केटोको झैं परिवर्तन भयो ।
त्यहाँबाट पाएको पैसाले मैले कलेजमा भर्ना गरें । कोरियाकै राम्रो विश्वविद्यालय युनसाईमा भर्ना पाएँ । त्यहाको पढाइ सक्नासाथै गोल्डम्यान साक्सले मलाई काम दिइहाल्यो ।’
===
गत वर्ष जुनदेखि सुयोङको स्वप्न यात्रा राजमार्गमा दौडिरहेको छ । ३ सय ६५ दिनमा ३ सय ६५ वटै सपना बटुल्न उनले जागिरबाट एक वर्षको छुट्टी लिइन् । के सपना भनेको बिस्कुन हो र ? पोखिएको उठाउँदै हिँड्ने ? ‘हो नि’ सुयोङको आफ्नै दर्शन छ, ‘सपना हाम्रै धरातलबाट आउने हो । त्यसैले देखेको सपना पूरा हँुदैन भन्ने केही छैन । फरक यत्ति हो, त्यो सपनालाई पाउन आफू कत्ति लागिपरिन्छ भन्ने कुराले धेरै अर्थ राख्छ ।’ त्यसैले सुयोङ यो स्वप्न यात्रामा अरूका सपना बटुल्दा उनीहरूलाई त्यो सपना विपनामा बदल्न उत्प्रेरित पनि गर्छिन् । किनभने उनले थाहा पाएकी छन्, धेरै मान्छे सपना देख्दैनन्, आशा गर्छन्, ‘म धनी भइदिए, धेरै पढ्न सके, घुम्न पाए, खुसी हुन पाए !’
सुयोङले अहिलेसम्म ६० देश घुमेकी छन् । बितेको एक वर्षमा चाहिँ १९ वटा । अब चीन, मकाउ र दक्षिण कोरिया पुगेपछि उनले सपनाको बिस्कुन बटुल्ने ‘रेगुलर’ काम सक्याउँछिन् । कुन देशका मानिस कस्ता सपना देख्दारहेछन् ? धनी र गरिबका सपनामा के फरक हुँदो रहेछ ?
‘देशपिच्छे मात्रै होइन व्यक्तिपिच्छे सपनाको आयतन फरक हुन्छ ।’ उनले भनिन् । जस्तो कि, प्यालेस्टाइनको शरणाथर्ीे शिविरमा बस्ने ७७ वषर्ीया वृद्धा बादियाको सपना छ, कम्तीमा आफ्नै घरमा मर्न पाइयोस् । उनको घर भएको क्षेत्र अहिले इजरायलको कब्जामा छ । इटालीका ४३ वर्षे केमिकल इन्जिनियर पाउलो डेफाल्को आफूभन्दा २० वर्ष कान्छी केटीसँग लभ गर्ने सपना पालेर रोमका सडक नापिरहेछन् । अफगानिस्तानमा बस्ने ४० वर्षे इरानी जावेद रेजेलचाहिँ बम विस्फोटमा गम्भीर चोट लागेको दाहिने हात ठीक हुने सपना देखिरहेका छन् । जापानका आठवर्षे बालक लेगो डिजाइनर बन्न चाहन्छन् । फेरि धनी र गरिबका सपनामा पनि फरक छ । गरिब धनी हुने आशा गर्छन् । अधिकांश गरिबलाई जिन्दगीमा धनी भइएला भन्ने विश्वासचाहिँ हुँदैन रे । धनीहरूले चाहिँ झन् धेरे धनी हुने र अलि बढी समाजसेवा गर्ने सपना देख्न थालेका छन् । यो त नेपालबाहिरका मानिसका सपना भयो ।
सुयोङले अहिलेसम्म भेटेकामध्ये सबैभन्दा पाका लामा दोर्जी सोलुखुम्बुको गुम्बामा बस्छन् । ८४ वर्षका उनको सपना विश्वभरि गुम्बाहरू बनाउने हो । टे्रकिङ गाइड समीर तामाङ दोहोरी गायक बन्न चाहन्छन् । वसन्तपुरमा फूल बेच्न बसेकी १८ वर्षे किशोरी मीना अंग्रेजी सिकेर जापान जान चाहन्छिन् ।
सुयोङले काठमाडौंको अनाथालयमा गएर बालबालिका भेटिन् । मैला लुगा र फाटेका जुत्ता लगाएर तिनले आफ्ना सपनाको बिस्कुन सुयोङका सामु फिँजाए- डाक्टर बन्न चाहन्छु, बिजनेसम्यान बन्न चाहन्छु, शिक्षक बन्न चाहन्छु, हिरो बन्न चाहन्छु, विदेश जान चाहन्छु । बदलामा सुयोङले तिनका सपनामात्र संगालिनन्, ती हरेकका लागि एक जोर जुत्ता पनि किनिदिइन् । त्यसपछिको भेटमा तिनले भनिन्- आशा गर्छु, ती नयाँ जुत्ताले तिनलाई तिनका सपनासम्म सजिलै दौडाउँछ कि । यसै मेसोमा उनले नेपाली फिल्मकर्मी निर शाहलाई पनि भेटिन् । कुनै बेला प|mेन्च निर्देशक एरिक भ्यालीसँग मिलेर ‘क्याराभान’ बनाउँदा उनी नेपाली टोपी लगाएर ओस्करसम्म पुगेका थिए । उनको सपना पनि रहेछ, अन्तर्राष्ट्रियस्तरमा चिनिने फिल्मकर्मी बन्ने ।
===
नेपाल हुँदै चीन जाने पूर्वयोजना त्याग गर्दै सुयोङ फेरि आफ्नै सपनाको पछि लागेर गएको बुधबार लन्डन उडी । त्यहाँ उसले शाहरूख खान र क्याटि्रना कैफका साथ यश चोपडाको फिल्ममा सानो भूमिकामा अभिनय गर्नु छ । ‘लन्डन बसेदेखि म बलिउडको फ्यान भएको हुँ,’ उसले भनी, ‘शाहरूख खानसँग फिल्म खेल्ने पनि मेरो सपना थियो, त्यो पूरा हुँदै छ ।’ बलिउडमा फिल्म खेल्ने उसको सपना सजिलै पूरा भएको चाहिँ होइन । झन्डै एक महिना मुम्बई बस्दा उसलाई धेरैले आश्वासन दिए । धेरैले फाइदा लिए, तर उसले फिल्म खेल्नचाहिँ पाइन । ‘अन्ततः मेरा धेरै सपनाजस्तो यो पनि पूरा हुँदै छ,’ उसले भनी, ‘लन्डनमा सुटिङ सकेर म चीन र कोरिया र्फकनेछु ।’
सपना देख्न बिर्सिसकेका आफ्ना बाआमाका लागि तीन वर्ष पहिले सुयोङले कोरियामा घर किन्देकी थिई । आफ्ना बाआमा आफ्नै घरमा बसून् भन्ने चाहना कुन छोराछोरीको हुँदैन ? सुयोङको पनि यो सपना थियो । यसपालि उसले तिनलाई पनि भेट्दैछे ।
यत्तिका समय लगाएर उसले बटुलेका सपनाको हविगत के होला ? यसको पनि जवाफ छ सुयोङसँग । ‘म यही सपनाहरू बुनेर किताब लेख्दै छु, मेरो दोस्रो किताब ।’ एभरेस्ट बेसक्याम्प पुगेको उल्लासमा तीन महिनापछिको रेड वाइनले अलि राति देखिन थालेकी उसले भनी, ‘उनीहरूको फोटोको प्रदर्शनी र डकुमेन्ट्री बनाउने पनि विचार छ । अनि अबको १० वर्षपछि म तिनीहरुलाई भेट्न फेरि फर्किनेछु ।’
एक ग्लास मात्रै वाइन पिउँछु भनेर बसेकी उसले तीन ग्लास रित्याइसकेकी थिई । त्यसको असरले होला उसले एउटी उत्तर कोरियाली वेटरसँग बोल्न थालेकी थिई । ‘तिमीलाई कसरी कोरियन बोल्न आयो ?’ त्यो वेटरले अलि रूखो स्वरमा सोधी । ‘मलाई यिनीहरूले जासुस पो भन्ठाने कि के हो ?’ उसलाई त्यहाँ बस्न मन भएन । फर्किने बेला, त्यो पातली वेटर मलाई मात्र हेरेर मुस्काई । सुयोङले बिस्तारै भनी, ‘जुन दिन दुई कोरिया एउटै हुनेछ, त्यो दिन यिनीहरू मसँग पनि मुस्कुराउनेछन् ।’