एउटी सुन्दरीको स्वप्न-यात्रा

April 1st, 2012

शरद चिराग

सुयोङ किमले लन्डनबाट इमेल लेखी- मेरा सपनाले मलाई नेपालसम्म डोर्‍याउँदै छ । के तिमी मेरा सपनालाई एभरेस्ट बेसक्याम्प जाने बाटो बताइदिन सक्छौ ?

त्यसको दुई हप्तापछि गएको शुक्रबार यो केटी दशरथ रंगशालामा थिई । उत्तर कोरिया र प्यालेस्टाइनबीच खेल सुरु हुँदै थियो । अचानक उसले एउटा प्लेकार्ड निकाली- ‘वी वान्ट युनाइटेड कोरिया ।’ खेलाडी छोडेर क्यामेराका लेन्स सुयोङतिर सोझिए । त्यसपछि के हुनु थियो, भीआईपी दीर्घामा बसेकी उसको प्लेकार्ड खोस्न एएफसीका अधिकारी आइहाले ।

३१ वषर्ीया सुन्दरी सुयोङ आफ्ना सपना पछ्याउँदै र अरूका सपना बटुल्दै काठमाडौं आइपुगेकी थिई । एभरेस्ट बेसक्याम्प पुग्ने उसको सात वर्षदेखिको सपना थियो । ‘यो मेरो ४१ औं सपना थियो । अझै ४२ वटा सपना मसँग बाँकी छन्, जुन अबका १८ वर्षमा पूरा गर्ने लक्ष्य छ ।’ सबैका सबै सपना कसरी पूरा हुन्छन् र ? हुनैपर्छ भन्ने पनि के छ ? उत्तर कोरियाली सरकारको स्वामित्वको दरबार मार्गको प्योङयाङ रेस्टुरेन्टको एउटा कुनामा बसेकी ऊ बडो दार्शनिक सुनिई, ‘मेरो साथी, सपना पछ्याएर त हेर, जिन्दगीका कथा आफैं बदलिँदै जानेछन् ।’

त्यसपछि उसले आफ्नो टिसर्ट अलिकति माथि सारी । हरे, उसका त जीउभरि खतै खत पो छन् त । मेरा आँखा उसका जीउ र रेस्टुरेन्टकी पातली उत्तर कोरियाली वेटरका आँखामा झन्डै एकैपल्ट परे, जो हामीलाई हेरेर मुस्कुराइरहेकी रहिछ ।

===

विश्वप्रसिद्ध बैंक गोल्डम्यान साक्सको कोरियाली शाखामा सुयोङले भर्खरै काम पाएकी थिइन् । त्यसका लागि उनले नौपटक अन्तर्वार्ता दिनुपर्‍यो । तर काम पाएको केही महिनामै उनी थलिइन् । उनको शरीरमा क्यान्सर देखियो । ‘म त्यतिबेला २४ वर्षकी थिएँ,’ उनले सुनाइन्, ‘म कसरी मर्न सक्छु प्वाँख पलाउँदै गरेका सपना उड्न नपाई ?’ धन्य ! रोग पहिलो चरणमै रहेछ । छ महिनापछि उनी निको भइन् । यो २००५ को कुरा थियो ।

त्यही बेला उनले आफ्ना ७३ वटा सपना खुट्याइन् र त्यसैको फेर समातेर युनिभर्सिटी अफ लन्डन पुगिन् मास्टर्स गर्न । पढाइ सकेकै वर्ष २००७ मा उनले लन्डनकै रोयल डच सेल कम्पनीमा म्यानेजरका रूपमा काम सुरु गरिन् । र त्यही साल कोरियनमा ब्लग लेख्न थालिन् । अन्तर्वार्ता कसरी दिने ? अन्तर्राष्ट्रिय कम्पनीहरूमा कसरी काम पाउने ? पश्चिमेलीहरूसँग कसरी काम गर्ने ? टिममा कसरी मिलेर काम गर्ने भन्ने उनको ब्लग कोरियामा खुब हिट भयो ।

त्यसपछि उनी वर्षमा चार पाँचपटक कोरिया आउजाउ गर्न थालिन् । उनलाई सुन्न जम्मा भएका प|mस्टेटेड कोरियाली युवाको भीडले लेक्चर हल भरिभराउ हुन थाले । आफ्ना सपनाको पछि लाग्दा लाग्दै यी कोरियाली सुन्दरी अब ब्लगर मात्र भइनन् इन्सिपिरेसन गुरु पनि बनिन् । र, दुई वर्षअघि उनको पहिलो किताब प्रकाशित भयो । कोरियामा डेढ लाख प्रति बिकेको यो किताबमा उनले सपना पछ्याएर इन्सिपिरेसन गुरु बन्नुअघिको आफ्नो जीवनकथा लेखेकी थिइन् ।

===

‘मेरा बाआमा निर्माण मजदुर थिए । त्यतिबेला म १० वर्षको थिएँ । कोरियामा व्यापार गर्ने खुब लहर चलेको थियो । मजदुरी छाडेर व्यापार गर्ने ध्याउन्नमा मेरा बा टाट पल्टिए । हामी रातारात क्वाङ्ग्सु गाउँ छाडेर भाग्यौं र एउटा सामुदायिक भवनको कुनोलाई घर ठानेर बस्न थाल्यौं । हामी तीन दिदीबहिनी र भाइ एउटै ब्ल्यांकेट ओढेर सुत्थ्यौं । गरिब भएकीले स्कुलमा धेरैले होच्याउँथे । १२ वर्षको उमेरमा मैले पहिलोपल्ट आत्महत्या प्रयास गरेकी थिएँ । त्यसपछि मैले हाइस्कुल पूरै नगरी पढाइ छाडिदिएँ । १४ वर्ष पुग्दा म भयंकर कठिन मोडबाट गुजि्रएँ । स्कुल छाडेपछि तीनपटक घर छोडेर भागें । दुईपटकसम्म त प्रहरीले घर फर्काइदियो । तेस्रोपटक म तीन महिनासम्म सडकमा बसें । ग्याङ्ग फाइट गर्ने केटाहरूको समूहमा पुगें । गम सुँघें । जति धेरै नराम्रा कुराहरू छन् त्यो सबै मैले त्यतिबेलै गरें । मेरो नाक अलिकति बांगो छ, ग्याङ्गफाइटका बेला कसैले चक्कु हान्दिएको थियो । जिन्दगीमा सबैभन्दा धेरै रक्सी मैले त्यतिबेलै खाएँ । सियो ताइजीको डाइहार्ट फ्यान थिएँ । त्यतिबेला खुब चलेको उसको ‘कम ब्याक होम’ गीत सुनेर म पनि घर फर्किएँ ।

घर आएपछि म भोकेसनल हाइस्कुल भर्ना भएँ । युनिभर्सिटी पढ्ने सपना थियो । माउन्ट किलिमन्जारो चढ्ने मन थियो । एभेरस्ट पुग्ने इच्छा थियो, फरारी कुदाउने रहर थियो । तर मैले त्यो सबै गर्न मेरा बाआमासँग पैसा थिएन । उनीहरूले मलाई फ्याक्ट्रीमा काम खोजिदिए । त्यहीँ काम गर्ने केटासँग उनीहरू मेरो बिहे गरिदिन चाहन्थे ।

मान्छेको जीवनमा सधैं अभाव, दुःख र पीडा मात्र हुँदैन रहेछ । धनी होस् वा गरिब, महिला होस् वा पुरुष, बच्चा होस् वा वृद्ध सबैका अगाडि अवसरका ढोका हुन्छन् । फरक यत्ति हो, त्यो ढोका खुला हुँदैन, त्यसलाई चिनेर आफैंले खोल्नुपर्छ ।

१९९९ मा म यस्तै ढोका अगाडि उभिएको थिएँ । त्यो केबीसी टीभी -कोरियन ब्रोडकास्टिङ सिस्टम) को गोल्डेन बल भन्ने क्विज प्रतियोगितामा जाने ढोका थियो । ओहो ! मेरो जिन्दगीको वास्तविक परीक्षा त्यही थियो । किनभने त्यो क्विज जित्नुको अर्थ मेरो जिन्दगी परिवर्तन हुनु थियो । हो, मैले नै जितें त्यो प्रतियोगिता । केहीअघि मुम्बई जानुअघि मैले स्लमडग मिलेनेयर भन्ने फिल्म हेरेको थिएँ । मेरो जिन्दगी त्यही फिल्मको केटोको झैं परिवर्तन भयो ।

त्यहाँबाट पाएको पैसाले मैले कलेजमा भर्ना गरें । कोरियाकै राम्रो विश्वविद्यालय युनसाईमा भर्ना पाएँ । त्यहाको पढाइ सक्नासाथै गोल्डम्यान साक्सले मलाई काम दिइहाल्यो ।’

===

गत वर्ष जुनदेखि सुयोङको स्वप्न यात्रा राजमार्गमा दौडिरहेको छ । ३ सय ६५ दिनमा ३ सय ६५ वटै सपना बटुल्न उनले जागिरबाट एक वर्षको छुट्टी लिइन् । के सपना भनेको बिस्कुन हो र ? पोखिएको उठाउँदै हिँड्ने ? ‘हो नि’ सुयोङको आफ्नै दर्शन छ, ‘सपना हाम्रै धरातलबाट आउने हो । त्यसैले देखेको सपना पूरा हँुदैन भन्ने केही छैन । फरक यत्ति हो, त्यो सपनालाई पाउन आफू कत्ति लागिपरिन्छ भन्ने कुराले धेरै अर्थ राख्छ ।’ त्यसैले सुयोङ यो स्वप्न यात्रामा अरूका सपना बटुल्दा उनीहरूलाई त्यो सपना विपनामा बदल्न उत्प्रेरित पनि गर्छिन् । किनभने उनले थाहा पाएकी छन्, धेरै मान्छे सपना देख्दैनन्, आशा गर्छन्, ‘म धनी भइदिए, धेरै पढ्न सके, घुम्न पाए, खुसी हुन पाए !’

सुयोङले अहिलेसम्म ६० देश घुमेकी छन् । बितेको एक वर्षमा चाहिँ १९ वटा । अब चीन, मकाउ र दक्षिण कोरिया पुगेपछि उनले सपनाको बिस्कुन बटुल्ने ‘रेगुलर’ काम सक्याउँछिन् । कुन देशका मानिस कस्ता सपना देख्दारहेछन् ? धनी र गरिबका सपनामा के फरक हुँदो रहेछ ?

‘देशपिच्छे मात्रै होइन व्यक्तिपिच्छे सपनाको आयतन फरक हुन्छ ।’ उनले भनिन् । जस्तो कि, प्यालेस्टाइनको शरणाथर्ीे शिविरमा बस्ने ७७ वषर्ीया वृद्धा बादियाको सपना छ, कम्तीमा आफ्नै घरमा मर्न पाइयोस् । उनको घर भएको क्षेत्र अहिले इजरायलको कब्जामा छ । इटालीका ४३ वर्षे केमिकल इन्जिनियर पाउलो डेफाल्को आफूभन्दा २० वर्ष कान्छी केटीसँग लभ गर्ने सपना पालेर रोमका सडक नापिरहेछन् । अफगानिस्तानमा बस्ने ४० वर्षे इरानी जावेद रेजेलचाहिँ बम विस्फोटमा गम्भीर चोट लागेको दाहिने हात ठीक हुने सपना देखिरहेका छन् । जापानका आठवर्षे बालक लेगो डिजाइनर बन्न चाहन्छन् । फेरि धनी र गरिबका सपनामा पनि फरक छ । गरिब धनी हुने आशा गर्छन् । अधिकांश गरिबलाई जिन्दगीमा धनी भइएला भन्ने विश्वासचाहिँ हुँदैन रे । धनीहरूले चाहिँ झन् धेरे धनी हुने र अलि बढी समाजसेवा गर्ने सपना देख्न थालेका छन् । यो त नेपालबाहिरका मानिसका सपना भयो ।

सुयोङले अहिलेसम्म भेटेकामध्ये सबैभन्दा पाका लामा दोर्जी सोलुखुम्बुको गुम्बामा बस्छन् । ८४ वर्षका उनको सपना विश्वभरि गुम्बाहरू बनाउने हो । टे्रकिङ गाइड समीर तामाङ दोहोरी गायक बन्न चाहन्छन् । वसन्तपुरमा फूल बेच्न बसेकी १८ वर्षे किशोरी मीना अंग्रेजी सिकेर जापान जान चाहन्छिन् ।

सुयोङले काठमाडौंको अनाथालयमा गएर बालबालिका भेटिन् । मैला लुगा र फाटेका जुत्ता लगाएर तिनले आफ्ना सपनाको बिस्कुन सुयोङका सामु फिँजाए- डाक्टर बन्न चाहन्छु, बिजनेसम्यान बन्न चाहन्छु, शिक्षक बन्न चाहन्छु, हिरो बन्न चाहन्छु, विदेश जान चाहन्छु । बदलामा सुयोङले तिनका सपनामात्र संगालिनन्, ती हरेकका लागि एक जोर जुत्ता पनि किनिदिइन् । त्यसपछिको भेटमा तिनले भनिन्- आशा गर्छु, ती नयाँ जुत्ताले तिनलाई तिनका सपनासम्म सजिलै दौडाउँछ कि । यसै मेसोमा उनले नेपाली फिल्मकर्मी निर शाहलाई पनि भेटिन् । कुनै बेला प|mेन्च निर्देशक एरिक भ्यालीसँग मिलेर ‘क्याराभान’ बनाउँदा उनी नेपाली टोपी लगाएर ओस्करसम्म पुगेका थिए । उनको सपना पनि रहेछ, अन्तर्राष्ट्रियस्तरमा चिनिने फिल्मकर्मी बन्ने ।

===

नेपाल हुँदै चीन जाने पूर्वयोजना त्याग गर्दै सुयोङ फेरि आफ्नै सपनाको पछि लागेर गएको बुधबार लन्डन उडी । त्यहाँ उसले शाहरूख खान र क्याटि्रना कैफका साथ यश चोपडाको फिल्ममा सानो भूमिकामा अभिनय गर्नु छ । ‘लन्डन बसेदेखि म बलिउडको फ्यान भएको हुँ,’ उसले भनी, ‘शाहरूख खानसँग फिल्म खेल्ने पनि मेरो सपना थियो, त्यो पूरा हुँदै छ ।’ बलिउडमा फिल्म खेल्ने उसको सपना सजिलै पूरा भएको चाहिँ होइन । झन्डै एक महिना मुम्बई बस्दा उसलाई धेरैले आश्वासन दिए । धेरैले फाइदा लिए, तर उसले फिल्म खेल्नचाहिँ पाइन । ‘अन्ततः मेरा धेरै सपनाजस्तो यो पनि पूरा हुँदै छ,’ उसले भनी, ‘लन्डनमा सुटिङ सकेर म चीन र कोरिया र्फकनेछु ।’

सपना देख्न बिर्सिसकेका आफ्ना बाआमाका लागि तीन वर्ष पहिले सुयोङले कोरियामा घर किन्देकी थिई । आफ्ना बाआमा आफ्नै घरमा बसून् भन्ने चाहना कुन छोराछोरीको हुँदैन ? सुयोङको पनि यो सपना थियो । यसपालि उसले तिनलाई पनि भेट्दैछे ।

यत्तिका समय लगाएर उसले बटुलेका सपनाको हविगत के होला ? यसको पनि जवाफ छ सुयोङसँग । ‘म यही सपनाहरू बुनेर किताब लेख्दै छु, मेरो दोस्रो किताब ।’ एभरेस्ट बेसक्याम्प पुगेको उल्लासमा तीन महिनापछिको रेड वाइनले अलि राति देखिन थालेकी उसले भनी, ‘उनीहरूको फोटोको प्रदर्शनी र डकुमेन्ट्री बनाउने पनि विचार छ । अनि अबको १० वर्षपछि म तिनीहरुलाई भेट्न फेरि फर्किनेछु ।’

एक ग्लास मात्रै वाइन पिउँछु भनेर बसेकी उसले तीन ग्लास रित्याइसकेकी थिई । त्यसको असरले होला उसले एउटी उत्तर कोरियाली वेटरसँग बोल्न थालेकी थिई । ‘तिमीलाई कसरी कोरियन बोल्न आयो ?’ त्यो वेटरले अलि रूखो स्वरमा सोधी । ‘मलाई यिनीहरूले जासुस पो भन्ठाने कि के हो ?’ उसलाई त्यहाँ बस्न मन भएन । फर्किने बेला, त्यो पातली वेटर मलाई मात्र हेरेर मुस्काई । सुयोङले बिस्तारै भनी, ‘जुन दिन दुई कोरिया एउटै हुनेछ, त्यो दिन यिनीहरू मसँग पनि मुस्कुराउनेछन् ।’

फिरन्ते केटीको आत्मकथा

January 11th, 2012

शरद चिराग

उसले गम्लङ्ङ अँगालो हाली । साँझ ढल्न लागेका बेला ठमेलको काठमाडौं गेस्ट हाउसको गेटमा म उसैलाई कुरिरहेको थिएँ । पहिलोपल्टको भेटमा कसैले पनि यसरी अँगालो हाल्दैनन् भन्ने कतै सुनेको थिएँ । त्यसैले शंकोचवश मैले २९ वर्षे हार्लेमको आत्मीयता तत्काल ग्रहण गर्न सकिनँ । कालो वर्णकी यो अमेरिकीले सायद कुरा बुझी । भनी, ‘मसँग सपिङ जान्छौ त ? केटीलाई कस्ता लुगा सुहाउँछन् भन्ने केटाहरूलाई थाहा हुन्छ नि ।’ घुमघामका कथा सुनाउन बोलाएकी यो फिरन्ता केटीले ‘सेड्युस’ पो गर्न लागि कि क्या हो भन्ने अर्धचेतनाले म थोरै आत्तिएँ र धेरै उत्तेजित भएँ । त्यही रनाहाले होला मैले उक्साएरै उसलाई हल्का ‘सी-थ्रु ट्राउजर’ र छोटा स्कर्ट किनाएँ ।

पुसको जाडो सडकमै छोडेर फायर प्लेस खोज्दै हामी ‘इन्टररेसिएल जोडी’ ले खोलेको स्याम्स बार छिर्‍यौं । ‘इन्डिया जान बाँकी छ,’ ननअल्कोहोलिक हार्लेमले हट लेमन अर्डर गरी र कुरा थाली, ‘तर अहिलेसम्म घुमेका ४३ मध्ये मलाई मन पर्ने देश एसियामा नेपाल नै हो ।’ नेपालले २०११ लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा तिब्बत हुँदै आएकी उसले चाहिँ यसबारे सुनेकी रहिनछ । न्युयोर्कको स्कुलमा पढाउने काम छाडेर ऊ फिरन्ताहरूको भाषामा ‘राउन्ड दि वल्र्ड’ को यात्रामा गत वर्षदेखि युरोप हुँदै अपि|mका र त्यसपछि एसिया हान्निएकी रहिछ । यस्ता फिरन्ताहरू एउटा देशमा कति समय बस्छन् ? यो सबै आफू पुगेको देशको आतिथ्य, मौसम, खाना र घुम्ने ठाउँले निर्धारण गर्छ भन्ने उसलाई लाग्छ । जस्तो, केही देशहरूमा उसले थोरै दिन मात्र बिताएकी छे भने नेपालमा झन्डै एक महिना । यो एक महिनामा ऊ ट्रेकिङ जानेबाहेक यहाँका प्रायः सबै पर्यटकीय ठाउँ पुगेकी छ । धेरै पर्यटक ट्रेकिङ नगई नेपालको यात्रा पूर्ण हँुदैन भन्ठान्छन् । हार्लेमलाई चाहिँ ट्रेकिङ जानुभन्दा गाउँमा गएर पढाउन ठीक लागेछ ।

टिचिङको कुरा उठेपछि शिक्षण विधि र इतिहास विषयकी स्नातकोत्तर उसले दक्षिण कोरियामा अंग्रेजी पढाएको समयको याद गरी । नेपाल र कोरियाको शिक्षाको स्तरमा आकाश-जमिनको जस्तो नभए पनि ठूलो भिन्नता पक्कै छ । विकासको गति पनि त्यस्तै हो । तर हार्लेमलाई कसैले सोध्यो भनेचाहिँ अर्कै जवाफ आउँछ, ‘नेपालका पाठ्यपुस्तक राम्रा र सही छन्, कोरियाका भन्दा । शिक्षकचाहिँ उस्तै हुन् । गतिला रैनछन् ।’

ऊ त्रिभुवन राजमार्ग छेउको एउटा सरकारी स्कुलमा पढाउन गएकी रहिछ । त्यहाँ अंग्रेजी पढाउने शिक्षकले नै अंग्रेजीमा राम्ररी कुरा गर्न सकेनछन् । ‘बरु विद्यार्थी बाठा,’ उसले भनी, ‘अलि राम्रो शैक्षिक वातावरण र योग्य शिक्षक हुने हो भने नेपालले शिक्षामा राम्रो गर्न सक्छ ।’ कोरियामा चाहिँ अमेरिका र बेलायतमा पढेका शिक्षक छन् । तर तीमध्ये धेरैको अंग्रेजी अझै शिक्षक बन्न लायकको छैन रे । हार्लेमले नेपाल र कोरियाको शिक्षण विधिमा भेटेको एउटा समानताचाहिँ अंग्रेजीलाई मातृभाषामा पढाउनु हो । ‘यहाँ अंग्रेजी नेपालीमा पढाइनेजस्तै कोरियामा कोरियनमा पढाइँदोरहेछ,’ उसले भनी ।

वर्षको ५० हजार डलर तलब पाउने गरी केही वर्ष अमेरिकाकै स्कुलमा पूर्णकालीन टिचर भएकी हार्लेमले सुनाई, अमेरिकामा स्पानिस अथवा प|mेन्च पढ्न जाँदा कसैले पनि अंग्रेजीमा पढाउँदैन । भनी, ‘आफ्नै भाषामा अंग्रेजी सिकेर कसरी बोल्न सकिन्छ र ?’ यति भएर पनि कोरियामा जस्तो भाषाको समस्या हार्लेमलाई नेपालमा कहिल्यै परेन । उसको अनुभवले भन्छ, ‘राम्रो अंग्रेजी बोल्नेहरू त्यति धेरै नभेटिए पनि कुरा बुझाउन सक्ने अंग्रेजी ज्ञान धेरै नेपालीलाई छ ।’

अंग्रेजीको कुरा गर्दा ऊसँग जोडिएको रमाइलो किस्सा छ । इस्तानबुल -टर्की) मा सहर घुमाउने जिम्मा लिएको केटोले सोधेछ, ‘हार्लेम ! तिमी अंग्रेजी बोल्छौ ? न्युयोर्कमा जन्मे हुर्केकी केटीले यसको जवाफ के दिने ? भनिछ, ‘अलि अलि । तर, तिमीलाई जति राम्रोचाहिँ आउँदैन ।’

नेपालमा हामी खैरो कपाल र गोरा छाला भएका सबैलाई ‘अमि्रकाने’ भन्छौं । जमैकन मूलकी उसलाई काली भएकै कारण धेरैले अमि्रकाने ठान्दारहेनछन् । हो, बब मार्लेको जमैकासँग हार्लेमको पनि साइनो छ । उदाहरण, कपाल काफी छ । त्यसैले धेरैले उसलाई अमेरिकीभन्दा सुरुमा पत्याइहाल्दैनन् । उसलाई चाहिँ के लाग्छ ? ऊ जमैकन हो कि अमेरिकी ?

‘अमेरिकी,’ उसले भनी, ‘म अमेरिकामै जन्मिएँ, त्यही हुर्किएँ र त्यहीँको संस्कार सिकेँ ।’ अमेरिका बहुसांस्कृतिक देश भएकोले त्यहीँ भित्र चाहिँ उसलाई आफू अकर्ैै मूलको हुँ भन्ने आभाष कहिल्यै भएन । तर आमासँग हिँड्दा कहिलेकाहीँ उसलाई आफू अरूजस्तो पूरै अमेरिकनचाहिँ होइन भन्ने लाग्छ । २० वर्षको उमेरमा जमैकामै कलेजको पढाइ सकेर अमेरिका आएकी उसकी आमाको शैक्षिक योग्यतालाई अमेरिकाले कहिल्यै स्वीकार गरेन । उसकी आमा अहिलेसम्म गाडी चलाउँदिनन् । यो यात्राको क्रम टुंग्याएर अमेरिका फर्किएपछि आमालाई ड्राइभिङ सिकाएर गाडी किन्दिने हार्लेमकोे धोको छ ।

तर उसको यो यात्राको क्रम टुंगिन्छ कहिले ? ‘भिजाकार्ड घोट्दा जतिबेलासम्म पैसा निस्कन्छ त्यति बेलासम्म म घुमिरहनेछु,’ उसले भनी । घुम्ने मामिलामा पनि ऊ आम अमेरिकीभन्दा फरक छे किनभने अधिकांश अमेरिकी देशभित्रै घुम्न रुचाउँछन् । पत्याउनुहुन्छ, जम्मा ६ प्रतिशत अमेरिकीसँग मात्रै पासपोर्ट छ किनभने तिनीहरू अझै युरोपेली, अस्ट्रेलियन वा जापानीझैं घुम्न देशबाहिर जाँदैनन् । ‘धेरै अमेरिकी अरू स्टेट घुम्न जान्छन्,’ उसले भनी, ‘देशबाहिर गइहाल्दा पनि मेक्सिको, जमैका वा बार्बाडोस जान्छन् ।’ त्यसपछि पालो आउँछ युरोपको । अनि मात्र अपि|mका र एसियाको । हाम्रो तथ्यांकचाहिँ अलिक फरक पर्न आउँछ । नेपालमा सबैभन्दा धेरै आउने पश्चिमेली पर्यटकचाहिँ अहिलेसम्म अमेरिकी नै हुन् ।

हार्लेमलाई यो यात्रा शृंखलामा अझै कम्तीमा १९ वटा देश घुम्नु छ । त्यसपछि ? ‘टिचिङचाहिँ अब गर्दिनँ ।’ उसले भनी, ‘अमेरिका फर्केर सायद विज्ञापन एजेन्सीको काम सुरु गर्छु कि ।’ करिअरको अन्योल नेपालमा मात्रै होइन, संसारभरि उस्तै हुँदोरहेछ, उसलाई सुनेपछि यस्तो लाग्यो ।

यतिसम्म उसको अँगालोको न्यानोले दिएको उत्तेजना हराइसकेको थियो । त्यसैले अब उसको ‘रिलेसनसिप स्टाटस’ को कुरा नउप्काई त्यहाँबाट फर्किनु कुनै हालतमा उचित हुँदैनथ्यो । मलाई ‘थि्रल’ गर्ने गरी उसले तुरुन्त जवाफ दिई, ‘सम्बन्धको त्यान्द्रोमा बाँधिएर पनि एक्लै घुम्न सकिन्छ र ? यात्रामा त सम्बन्धहरू बनाउने र भत्काउने हो ।’

त्यो पहिलो र अन्तिम भेटको एक हप्तापछि दिल्लीबाट उसले इमेल लेखी, ‘यहाँ उत्तिकै जाडो रहेछ । म काठमान्डूलाई मिस गरिरहेको छु । ठमेलमा किनेको सी थु्र ट्राउजर दिल्लीलाई सुहाउँदैन रहेछ ।’

sharad.chirag@gmail.com

बादल लागेको आकाश

December 22nd, 2010

शरद चिराग

लन्च समय थियो । घाँटीमा झुन्ड्याएको नेमकार्डमा ऊ देवनागरीमा नाम लेखाउन चाहन्थी । उसको अंग्रेजी नामका तल मैले लेखिदिएँ- आएशा बनाफ्शेह ।

‘तिमी नर्वेली होइनौ ?’

 ’नर्वेली त हो नि । तिमीलाई ऊ चिनियाँजस्तो लाग्छ ?’ उसलाई पछ्याएर आएको कोलम्बियाली ठिटोले रूखो स्वरमा जवाफ फर्कायो ।

केटीले नदेख्नेगरी त्यसलाई माझीऔंलो देखाइदिएँ । लौ जा । केटो लुरुक्क परेर गयो ।

 आएशालाई भनेँ, ‘तिम्रोजस्तो नाम गरेको नर्वेली कोही भेटेको छैन ।

‘ यसको एउटा कथा छ, समय मिल्यो भने जरुर सुनाउँला । यसो भन्दा उसको अनुहारमा पहिलोजस्तो कान्ति थिएन ।

 फेब्रुअरीको हेराल्डभाँगेन हिउँले पूरै ढाकिएको थियो । भूमिगत तीनतले तर बाहिरबाट सानो देखिने एउटा भवनको डाइनिङ कोठाबाट म पारिपट्टकिो सेताम्मे हिमाल र त्यस छेउको सानो गाउँ हेरिरहेको छु । मुस्किलले सय मिटरजति टाढा होला, आइस स्केटिङ रिङ देखिन्छ । त्यसको वल्लो छेउको सानो पाखोको पातला बुट्यान पनि सेताम्मे छन् ।

 स्केटिड रिङ भएको त्यो ठाउँ खासमा पोखरी हो, जहाँ हामी समरमा आउँदा कहिलेकाहीँ पौडी खेल्छौं, टेबलको अर्कोपट्ट िकुर्सीमा बस्दै उसले भनी । स्केन्डेनेभियन अनुहार नपरेकी तर गज्जबको करिश्मा भएकी रमाइला बात मार्ने र बातैपिच्छे खितित्त हाँस्ने यो केटीलाई मैले यसअघि त्यहाँ देखेको रहेनछु । भनौं राम्रो याद गरेको रहेनछु । किनभने हिजो साँझ पहिलोपल्ट म ओस्लोबाट यहाँ आउँदा सबैसँग सामान्य चिनापर्ची त भएकै थियो ।

‘तिमी ओस्लोदेखि ?’ उनले सोधी ।

 ’नेपालबाट’, मैले जवाफ फर्काएँ ।

‘नेेपाआल’ ऊ आश्चर्य मिश्रति भावमा भनी, ‘सगरमाथा कस्तो छ ?’

‘खोई अहिलेसम्म अनुहार देख्न पाएको छैन । देखेकाहरू भन्दैछन्- ‘हिउँ पग्लिँदै गएकोले ख्याउटे र काले हुँदैछ रे ।

‘ ए, नर्वेको हिउँ लैजाउ न त्यसो भए । ऊ दोस्रोपल्ट खितित्त हाँसी, हामी यो हिउँ देख्दा-देख्दा वाक्कदिक्क भइसक्यौं । सट्टामा बरु हामीलाई घाम पठाइदेऊ ।

ल साटौं । मेरो प्रस्ताव थियो । पक्का, मेरो इमेलमा अट्याच गरेर पठाइदेऊ । डायरीको एकछेउ च्यातेर आफ्नो इमेल आईडी लेखेर दिएपछि बैंसले मदमस्त त्यो मसिनी केटीले आफ्ना ठूला आँखा झिम्काई र ब्रेकफास्ट खान व्यस्त पातलो भीडमा मिसिई ।

युवा सम्बन्धी तालिमको दिउसोको सत्रमा समूह विभाजन हुँदा निराश हुनुपर्‍यो । मसँग बेग्लै निकटता देखाएजस्तो गर्ने त्यो केटी अर्कै समूहमा परी । हामीभन्दा बायाँपट्ट िबसेकी ऊ निमग्न भएर प्रशिक्षकका कुरा सुनिरहँदा यति कञ्चन देखिन्थी कि म भुत्तुक्क हुन्थेँ । आएशा त्यहाँभरिका केटीमा सबैभन्दा राम्री थिई । खैरा कपाल भएका गोरा केटीहरूका माझमा छोटो तर कालो कपाल, ठूला र काला आँखा, अनि युरोपेली छाँट नदेखिने गोरो वर्णकी त्यो कति सक्रिय थिई भने फ्लोरमा झर्ने हरेक प्रश्नपछि पहिलो हात उसकै उठ्थ्यो ।

ओस्लो फिर्ता हुनुअघि अधिकांश आफ्ना लगेज प्याक गर्न व्यस्त थिए । बाहिर फुसफुस हिउँ परिरहेको थियो । केही केन्याली, रूवान्डेली र कोलम्बियाली केटाकेटीहरूचाहिँ अघि नै काम सकिवरी माकल टोपी लगाएर स्नोबोर्डिङ खेल्नतिर लागेका थिए ।

 ’तिमीलाई मेरो सहयोग चाहिन्छ ?’ ऊ कोठामा देखापरी ।

‘अलि चाँडै आउनुपथ्र्यो नि, भर्खर सकेँ ।’ र यो पालीको हाँसोचाहिँ मेरो थियो ।

भोलि दिउसो फुर्सदमा छौ भने म भिगिल्यान्ड पार्क घुमाइदिउँला । यति भनेर उसले मेरो होटेलको नाम र ठेगाना लिई ।

कत्रो खुसीको कुरा, फेब्रुअरीको मध्यमा कत्ति दिनदेखि देख्न नपाएका घामका कलिला डोबहरू पछ्याउँदै हामी पार्कभित्र जाँदा पिकनिक मनाउने थुप्रै र अरू पर्यटकहरूका भीड बाक्लो थियो । नांगा मूर्तिहरूले भरिएको पार्कको एकफन्को लाएर जीउ बिसाउन बेन्च पाएपछि सानो स्वरमा आएशाले भनी, ‘साँच्चै मेरो कथा सुन्ने हो ?’

 ’हो नि । तर तिमीलाई सुनाउन अप्ठ्यारो लाग्दैन भने ।’

 ’तिमी सही छौ, म वंशले नर्वेली होइन ।’ उसको कथा सुरु भो- ‘म ६ वर्षको हँुदा मेरा बाआमा इरानबाट राजनीतिक शरणार्थीका रूपमा नर्वे आएका थिए ।

‘ हँ इरान ? मेरो कल्पनामा आएशाको सुन्दरता, रातो टिसर्ट र कस्सिएको कालो जिन्सले छोप्न नसकेको उसको जवानी कसरी कालो बुर्कामा कैद भएर तेहरानका सडकमा गुम्सिन्थ्यो होला भन्ने कुरा तत्क्षण आयो । उसको बैंसको यो खित्तित कसरी तेहरानमा बन्दी हुनसक्थ्यो होला भन्ने कुरा आयो । ऊभन्दा बढी भावुक भएर म उसलाई सुनिरहेको थिएँ । बाल्यकालका हरेक स्मृतिलाई पत्रपत्र गरी केलाउँदै थिई ऊ- सुधारवादी राजनीतिक प्रणालीमा विश्वास गर्ने इरानी नेता मोहम्मद खतामीका मित्र उसका बाबुलाई शक्तिमा रहेका मुस्लिम कट्टरपन्थीहरूले कसरी टिक्न दिएनन् । केही समय जेल परेर छुटेपछि कसरी उसका वकिल बाबु आफ्ना तीन सन्तान र श्रीमतीलाई पछि लगाएर सन् १९९२ मा नर्वे छिरेका थिए । र बर्गेनको शरणार्थी शिविरमा केही वर्ष बिताएपछि किन ओस्लो सरेका थिए । ठूलो सहरमा बढी अवसर पाइएला भन्दै उनीहरू ओस्लो आइपुगे । यहींको संस्कृति र रहनसहनसँग भिजे ।

कानुनी रूपमा अहिले आएशा र उसका बाआमा नर्वेली हुन् । तर आम नर्वेलीका लागि उनीहरू नर्वेली होइनन्, मुस्लिम हुन् । उसका अधिकांश साथीहरू नर्वेली छन्, तर तिनका घरमा जाँदा तिनका बाआमाले उत्ति रूचाउँदैनन् । सडकमा हिँड्दा अथवा ट्रेन वा ट्राममा केही सोधिहाल्दा पनि गोरा छाला भएका नर्वेलीहरू हत्तपत्त बोल्न चाहँदैनन् । किनभने उनीहरू मुस्लिमसँग डराउँछन् । ‘हामी उनीहरूजस्तै मान्छे हौं भन्ने कुरा उनीहरू स्वीकार गर्नै सक्दैनन्’, उसले भनी- ‘खासगरी सेप्टेम्बर ११ को अमेरिका हमलापछि ।’

समस्या एकातिर मात्रै छैन । मुस्लिमहरू पनि उसलाई मुस्लिम मान्दैनन्, किनभने रमजानमा ऊ रोजा बस्दिन । बल्ल-बल्ल आउने गर्मी मौसममा नर्वेका सडकमा स्कर्ट लगाएर हिँड्छे । नर्वेमै बस्ने पाकिस्तान र अन्य देशबाट आएका आम मुस्लिम युवतीभन्दा ऊ फरक छे । त्यहाँको मुस्लिम समाज र उसको आफ्नै परिवारको नजरमा उसको परिचय क्रिस्चियन युवतीको भन्दा फरक छैन । ‘म न मुस्लिम हुनसकेँ न नर्वेली हुनसकेँ’, पीडाको एउटा लामो स्वास तानेर उसले भनी ।

 यसको असर उसको परिवारमा पर्ने नै भयो । बाआमा धर्मले, सोचाइले र व्यवहारले अझै मुस्लिम नै छन् । उनीहरूका संगत पनि मुस्लिम समुदायसँग मात्र छ । सुधारवादी मुस्लिम र युरोपवासी भएर पनि उनीहरू त्यति धेरै उदार हुनसकेका छैनन् । यसको असर आएशाको प्रेम जीवनमा पनि पर्ने नै भयो । कलेजमा क्रिस्चियन धर्म मान्ने केटा साथी बनाउँदा उसलाई समस्या पर्‍यो । बाआमाले नरुचाएपछि ऊ त्यसलाई छाड्न बाध्य भई । लौ यसले ट्रयाजेडीको पो कुरा गरी । पूरा भावुकता बिर्सेर मेरो मुखबाट फ्याट्ट निस्कियो- ‘अहिलेचाहिँ ब्वाइप|mेन्ड छैन त ?’ उसले छैनमा मुन्टो हल्लाई । यत्तिका दर्दभरिका कहानी सुनिसकेर पनि अन्त्यमा ब्वाइप|mेन्ड छैन भन्ने उसको कुराले चाहिँ खोई किन हो मलाई औधी खुसी तुल्यायो ।

‘किन त ?’ ‘थाहा छैन’, ऊ अलिकति उज्यालिई, तर मजति होइन । भनी- ‘मनमिल्दो केटा पाए भने बाआमाका कुरा पनि सुन्दिन । कसैको सुन्दिन । यो संसारमा म अब एकजनालाई मात्र विश्वास गर्न सक्छु ।’ ‘को ?’ ‘म आफैं’, उसले एकदमै दृढ भएर भनी । मलाई अनुभव भयो, ऊ मेरा आँखामा एकटकले हेरिराखेकी थिई ।

 ’तिम्रोचाहिँ केटी साथी छैन ?’ अब सोध्ने पालो उसको थियो । ऊदेखि भुतुक्क हुनलागेको छु भनेर म कसरी भनिहाल्न सक्थेँ र ? बरु एउटी केटीले हात तानेर आई लव यु लेख्देपछि लाजले तीन दिन कलेज जान नसकेको कुरा मैले सुनाएँ । र ऊ खित्का छोडेर हाँसी ।

 घाम अघि नै हराइसकेको थियो । ओस्लोको आकाशमा अन्धमुष्टि बादल थियो । आएशा घर फर्किन हतारिई । सायद उसको कुनै काम थियो । मैले छुट्टनिुअघि सोधेँ- ‘के म तिम्राबारे केही लेख्न सक्छु ?’ ‘लेख तर राम्रो मात्रै ।’ उसले यसो भन्दा चिरपरिचित खितित्त हाँसो पनि ऊसँगै उपस्थित थियो ।

भोलिपल्ट साँझ आएशालाई इमेल लेखिसक्याएर भारतीय रेष्टुराँ खोज्दै हिँड्दा अँगालोमा बेरिएका अनेक जोडी चिसो सडकमा मुख जोड्दै गरेका बग्रेल्ती देखिए । कसैले नमस्ते भनेजस्तो लागेर पछाडि फर्किएकोे मात्र के थिएँ, म उभेको जमिन भासिएजस्तो लाग्यो । आँखा अविश्वासले फराकिला भए । त्यही कोलम्बियाली ठिटो रहेछ । मलाई देखेपछि त्यसले कम्मरमा बेरेकी केटीको मुखमा च्वाक्क म्वाइ खायो । आएशा थिई त्यो ।

 ’म ऊसँग साल्सा सिक्न जान लागेको’- उसले भनी ।

केटोले बडो गर्वले मलाई हेर्‍यो र लगभग घिसारेजस्तै गरी आएशालाई लिएर हिँड्यो । आकाशमा बाक्लो बादल थियो, पानी पर्ला कि भन्ने डरले म आधी बाटोबाटै फर्किएँ ।

असफल राजनीतिको छायाँ

August 25th, 2010

शरद चिराग

देशको स्थिति ठीक छैन । यो कुनै नौलो कुरो होइन जसलाई गर्वका साथ यसरी लेखको सुरुमै लेख्न सकियोस् । भर्खरै मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका दिन काठमाडौंस्थित परराष्ट्र मन्त्रालयबाट राहदानी पाएर दंग परेका पूर्वी नेपालका युवाहरूको तस्बिर द काठमान्डु पोस्टमा हालै छापिएको छ । कामका लागि बर्सेनि बिदेसिने ३ लाख युवामा यस वर्ष ती पर्नेछन् सायद । राहदानी लिने भीड शीतल निवासमा घटेको छैन भलै यसले अब समाचारमा स्थान पाउन छोडेको छ । आखिर समाचार लेख्नेले पनि कत्ति लेखून्, एकदिन होइन, दुई दिन होइन । सधैं यस्तै त छ ।

राहदानी खोज्दै ती युवा मोरङबाट आए होलान्, सिरहा, रौतहट, कैलाली, अछाम, रुकुम, पर्वत, दोलखा वा तेह्रथुमबाट आए होलान् । ती पूर्वी पहाडमा चलिरहेको चन्दाआतंक र बन्दबाट आक्रान्त भए होलान्, हिंसा बढ्दै गएको तराईबाट दिक्दार भएर आए होलान् वा गरिबी र बेरोजगारीले थलिएर सुदूरपश्चिमका पहाडतिरबाट आए होलान् । जहाँसुकैबाट आएका किन नहुन्, सबका आँखामा निराशाको अन्धमुष्टि बादल छ, असन्तुष्टिको पहाड तिनका मनमा छ र विद्यमान शासन प्रणालीप्रति आक्रोश छ । ती सबलाई लाग्दो हो अब त अत्ति भो, बस्न सकिँदैन ।

आखिर तिनलाई पहिले आउनु त काठमाडौंमै छ, जानु जहाँसुकै होस् । काठमाडौंले तिनलाई उचित शिक्षा दिन सकेन जस्तो तिनले चाहेका थिए, विकास, रोजगारी र अवसर दिन सकेन, खुसी दिन सकेन तर अब विदेश जाने अनुमति भने काठमाडौंले मात्र दिन सक्छ तर देशको राजधानी यो काठमाडौं आफैं भने अहिले बडो दरिद्रतामा छ । यसको हुर्मत लिइएको छ, जवानी लुटिएको छ र यसलाई विकृत बनाइएको छ । त्यसो गर्नुको पुरुषार्थ हाम्रा राजनेताहरूले लिएका छन् ।

राजनेताका कुरा गर्दा राजनीतिको कुरा स्वाभिवक छ, आइहाल्छ । अब हामीकहाँ प्रधानमन्त्रीको चुनाव कतिपल्ट भयो अथवा कसले कतिपल्ट हारे भन्ने कुरा पनि नौलो भएन । को प्रधानमन्त्री छ कोको मन्त्री छन् भन्ने पनि चासोको विषय भएन, जबसम्म ती भ्रष्टाचार गरेर, कुनै न कुनै उटुड्या गरेर चर्चामा आउँदैनन् । नत्र यतिन्जेलको कामचलाउ सरकार के बेइज्जत होइन ? जनताले अब के आस गर्ने यी दलहरूसँग, यो नेतृत्वसँग ? लौन सरकार बनाऊ, लौन संविधान बनाऊ, लौन प्रधानमन्त्री चुन्देऊ भनेर जनताले भन्नुपर्ने ? योभन्दा कन्तबिजोग नेपाली राजनीतिको अरू के हुन सक्छ ?

यस्तै भद्रगोल राजनीतिबाट विरक्तिएका मेरा एक मित्रले भनेथे, डा. बाबुराम भट्टराई, कुलचन्द्र गौतम, प्रदीप गिरी, प्रदीप ज्ञवाली, नरहरि आचार्य, विश्वप्रकाश शर्मा, गगन थापाहरूले कुनै समाजवादी पार्टी बनाए भने त्यसको चाहिँ कार्यकर्ता हुनेछु, नत्र अब यो राजनीतिप्रति अब मेरो कुनै चासो रहेन । विद्यमान राजनीतिक परिपाटी हेर्दा भलै तत्काल त्यसो हुन नसक्ला तर उनको आशय भनेको आशाको एउटा सानो त्यान्द्रोचाहिँ यी केही नेताहरूका कारण अझै बाँकी छ । राजनीति नामको व्यवसाय गरिरहेकाहरूले यसलाई अवसरका रूपमा लिन्छन् कि लिँदैनन् । कम्तीमा राजनेताहरूको लोकपि्रयता पाताल पुगिसकेका बेला त्यसलाई उकास्न केही गर्छन् कि त ।

उसो त राजनीतिमा हरेकले उतारचढाव बेहोर्नुपर्छ । सीबीएस/न्युयोर्क टाइम्सले केहीअघि गरेको सर्वेक्षणले आफ्नो १८ महिने कार्यकालमा अमेरिकी राष्ट्रपति बराक ओबामाले लोकपि्रयता गुमाएको उल्लेख थियो । विश्वव्यापी आर्थिक मन्दीबाट मुक्ति पाउँदै गरेको अमेरिकामा लोकपि्रयता कायम गरिराख्नु कम चुनौतीपूर्ण भने छैन । अमेरिकाको त्यो हालत छ भने राजनीतिक व्यवस्था, सामाजिक सद्भाव, शासन प्रणाली सबै खत्तम भएको, जनताको मनोबल गिरेको हाम्रो जस्तो मुलुकमा यसै कठिन हुने नै भयो । हाम्रैजस्तो स्थिति भएको अपि|mकाको घानाकी एकजना मेयरले राजनीति साह्रै फोहोरी खेल भएकाले त्यसका लागि आफू योग्य नभएको भन्दै केही अघि राजीनामा दिएकी थिइन् । नाइजेरियाका युवाहरूले सामाजिक सञ्जाल साइटमा किन राजनीति फोहोरी खेल भयो भनेर लामो वादविवाद गरेका छन् । ती सबैको निचोडचाहिँ के हो भने राजनीति फोहोरी होइन राजनीति गर्नेहरू धेरै फोहोरी भए । संसारको त्यो पल्लो कुनाका बासिन्दाले, युवाहरूले जे भोगेका छन्, हाम्रो अनुभव पनि त्यही हो, राजनेताहरू फोहोरी भए, तिनले राजनीति निष्ठाले गरेनन् ।

के राजनीति निष्ठाले गर्न सकिँदैन ? के यसमा नैतिकता भन्ने कुनै कुरो हुँदैन । के उनीहरू मुखले मात्र जनताप्रति उत्तरदायी छौं भनेर वास्तविक उत्तरदायित्वबाट सधैं पन्छिरहन पाउँछन् ? पाउँदैनन् तर त्यसका लागि उनीहरूसँग केही न्यूनतम योग्यता हुनुपर्छ जसले अरू क्षमतावान् नागरिकलाई नेतृत्व दिन सकून् । धेरै जति विकासोन्मुख तथा विकासशील देशहरूमा राजनेताहरू कि घरानियाँहरू हुन्छन्, कि यति तलदेखि उठेर आएका हुन्छन्, दुवैले जनतालाई निरास मात्र पार्छन् -ब्राजिलका राष्ट्रपति लुला दा सिल्भालगायत थोरै राजनेताहरू अपवादमा पर्छन् ।) केमिन इकेनबरीले राजनेताहरू किन असफल हुन्छन् भन्नेबारे एउटा लेख लेखेका छन् । उनको ठम्याइ छ, तिनीहरू प्रतिबद्ध हुँदैनन्, कसैसँग मतान्तर भएमा ती चाँडो सञ्चार गर्न बन्द गर्छन्, धैर्यवान् हुँदैनन् र उनीहरूलाई थाहा हुँदैन कि आफूले चाहेजस्तो काम कसरी गर्न सकिन्छ । यसबाहेक हरेक दलभित्र हुने हाइर्‍यार्की, कमजोर निर्णय क्षमता र सत्य कुरामा आँट गर्न नसक्ने स्वभावले उनीहरू सधैं असफल हुन्छन्, अलोकपि्रय हुन्छन् ।

हाम्रा नेताहरूमा यही अवगुण छ जसलाई उनीहरूले छाड्न सकिरहेका छैनन् । इच्छाशक्तिको कुरा पनि होला । फेरि व्यक्तिको समाजको प्रवृत्ति तुरुन्तै बदलिइहाल्ने पनि होइन तर राजनीतिक निर्णयले के चाहिँ गर्छ भने एकातिर गइरहेको व्यक्ति, समाज र देशको एउटा प्रवाहलाई अर्कैतिर मोड्न सक्छ । कतातिर मोड्ने, कुरा फेरि राजनेतामै आएर टुंगिन्छ तर यसो सोचिल्याउँदा त्रिदेवी मार्गनिरको परराष्ट्र मन्त्रालयमा अर्को साल पनि राहदानी लिनेको भीड देखेर के नरेन्द्र श्रेष्ठलाई क्यामेरा तेस्र्याउँदै फोटो खिच्न जाँगर चल्ला ? के अर्को वर्षको युवा दिवसमा विदेशमा पढेका युवाका भीड नेपाल फर्केको फोटो काठमान्डु पोस्टले छाप्न पाउला ?

sharad.chirag@gmail.com

खुसीको राजमार्ग

August 4th, 2010

शरद चिराग

अघिल्लो शनिबार आफ्नो जन्मदिनमा शुभकामना दिएर पार्टीचाहिँ खोइ त ? भन्नेहरूलाई मेरी एउटी मित्रले जबाफ दिइन्- केको पार्टी, शोकसभा मनाउनुपर्ने बेला पनि कसैले भोजभतेर गर्छ ? हड्डी र आत्मविश्वास दिनदिनै बूढो हँुदैगएको भन्दै तीस वषर्ीयाले झन्डै आधा उमेर व्यर्थमा बितेको शोकमा जन्मदिन नमनाउने निर्णय गरिछन् ।

उसो त जन्मदिन तामझामले मनाउने हाम्रो मौलिक संस्कार

होइन । पछिल्लो समयमा भने सहरी र अर्धसहरी क्षेत्रमा तन्नेरी पुस्ताले जन्मदिनमा साथीभाइलाई भेला पारी पार्टी गर्ने चलन फस्टाउँदो छ । यसो गर्नु नगर्नु अथवा बेग्लै सामाजिक काम गरी जन्मदिन मनाउनु हरेकका व्यक्तिगत इच्छाका कुरा हुन् तर यो लेखमा चर्चा गर्न खोजिएको चाहिँ ‘बर्थडे’ संस्कृतिको नभएर मान्छेमा बढिरहेको निराशाका बारेमा, नकारात्मक सोचाइ राख्ने प्रवृत्तिका बारेमा हो । मेरी मित्र निराशाले गाँज्दै लगेको समाजकै एउटी प्रतिनिधि सदस्य हुन् जसले ख्यालठट्टामा  जन्मदिनलाई शोक मनाउने दिन भने पनि यसलाई निराशाको एउटा आम अभिव्यक्ति भन्न सकिन्छ । समयले, परिस्थितिले मानिसलाई कसरी हरेक कुरालाई नकारात्मक सोच्नेतिर उन्मुख गराइरहेको छ भन्ने एउटा उदाहरण हो यो ।

छरछिमेकमा, समाजमा, देशमा यो समयमा घटेका घटनाहरूलाई हेरौैं । अरू मान्छेका अनि आफ्नै पनि मनोवृत्तिलाई हेरौं । कसरी हाम्रा मान्यताहरू बदलिँदै गएका छन्, परम्परा हराउँदै गएको छ । नैतिक मूल्य कसरी ह्रास हुँदै गएको छ । कसरी हामीले ठूला ठानेका मान्छेहरू लिलीपुटजस्ता होचा हुँदै गएका छन्, तिनका आफ्नै व्यवहारले । राजनीतिमा हेर्‍यौं भने त हामी सबै वर्ग, उमेर समुदायका मानिसको मत अझ प्रस्टसँग एउटै हुन्छ- ल बर्बाद भो, नेताहरूले देश बिगारे, भ्रष्टाचार गरे, असुरक्षा बढाए, अपराधीलाई राजनीतिक संरक्षण दिए । हामी सबैभन्दा गरिब मुलुकका बासिन्दा बनाइयौं । नेताहरूलाई सत्ता मात्र चाहिएको छ । नभए प्रधानमन्त्रीको कुर्सीका लागि किन यो जग हँसाइ, किन यत्रो मारामार ? सर्वसाधारण मात्रै यसो भनिरहेका

छैनन् । नेताहरू पनि यसै भनिरहेका छन् । भुरा नेताहरू ठूला नेताप्रति रोष प्रकट गरिरहेछन् अनि ठूलाहरू विरोधी पार्टीका नेताहरूप्रति ।

हो, मान्छे यतिविघ्न निराश भएका छन् कि तिनीहरू अब कसैले केही राम्रो काम गर्न लाग्यो भने पनि शंका गर्छन्- ‘त्यत्तिकै त त्यसले किन काम गथ्र्यो ? पक्कै केही स्वार्थ छ यसमा । अरू कसैले काम गर्न नपर्ने, हामीले नगरे पनि हुने, त्यसैलाई बढी जान्ने हुनुपर्ने । लौ यसको केही खेलो छ’ भनेर उसलाई सहयोग होइन सिध्याउनतिर लाग्ने प्रवृत्ति बढ्दो छ । निराश मान्छेले हरेकलाई आफूजस्तै विकृत भन्ठानेर घृणा गर्छ भन्ने जर्ज बनार्ड शको भनाइ यतिखेर हामीमा लागू भएजस्तो देखिन्छ । भ्रष्ट हुँदै गएका सामाजिक, राजनीतिक र नैतिक मूल्यमान्यताहरूले हाम्रा मनोग्रन्थिहरूमा प्रशस्त विकार भर्ने क्रम निरन्तर छ ।

रिभ्यु अभ जेनरल साइकोलोजी जर्नलमा २००१ मा प्रकाशित खराब असलभन्दा बलवान् हुन्छ -ब्याड इज स्ट्रङ्गर देन गुड) शीर्षकमा मनोविज्ञहरू रोय एफ बौमिस्तर, एलेन ब्राट्स्लाभ्स्की, क्याथलिन भो र क्याटि्रन फिनकेनरले यस्ताखाले समस्यालाई ‘नेगेटिभिटी बाएस’ भनेका छन् । यी मनोविज्ञहरूको अनुसन्धानले सन्तुलित अथवा सकारात्मकका तुलनामा नकारात्मक अनुभवहरूका प्रभाव धेरै असरदार हुन्छन् भनेको

छ । मानिसहरू आफूले देखेभोगेका खराब घटना अथवा विगतका नकारात्मक अनुभवहरू धेरै सम्झन्छन् र त्यसबाट प्रभावित हुन्छन् भन्ने यो अनुसन्धानको सार हो । हामी आफ्नै कार्यालयका अथवा स्कुलकलेजका पुराना दिन सम्भिmयौं भने आफूसँग कुरा नमिल्ने धेरै मानिस, साथी र तिनीहरूसँगको तीतो सम्बन्धलाई पहिले सम्झन्छौं ।

राजनीतिमा हेरांै, हामी त्यस्ता नेता खोज्छौं जसले हाम्रा जीवनमा खराब अथवा नकारात्मक चीज ल्याउने कम सम्भावना होस् तर यस विपरीत हाम्रो राजनीति गालीगलौजले भरिपूर्ण छ । हरेक पार्टीले, हरेक नेताले आफ्ना राम्रा कुराको भन्दा बढी प्रचार विरोधी पार्टी वा नेताको नकारात्मक कुराको गरेको हामी पाउँछौं । अहिलेकै हाम्रो प्रधानमन्त्री चयनको घटनालाई लिऊँ न । कांगे्रसका रामचन्द्र पौडेलले आफ्ना सबल पक्षहरूका कारण प्रधानमन्त्री पाउनुपर्छ भनेका हुन र ? उनले त माओवादी नागरिक पार्टी भएन, हत्याहिंसाको बाटो छोडेन । प्रचण्डले नेतृत्व गरेको सरकार असफल भइसक्यो । त्यसैले अब मेरो पालो भनेका पो हुन् । प्रचण्डले पनि कांग्रेसले विगतमा धेरै सरकार चलाइसक्यो, उसको जनाधार छैन त्यसैले आफू नै प्रधानमन्त्री हुनुपर्छ भनेका हुन् । अरू दलका कुरा पनि यस्तै हुन् ।

यस्तो वातावरणले आम नागरिकलाई चाहेर पनि उति आशावादी बन्न दिँदैन । पहिले नेता, परिस्थितिलाई दोष दिनेहरू बिस्तारै आफूले केही गर्न सकिनँ भनेर निराश हुन्छन् । ती विगतका आफ्ना गल्ती र कमजोरीलाई मात्र सम्भिmेर पश्चात्ताप मात्र गरिबस्छन् । मनोविज्ञहरूको भाषामा ‘डी पर्सनाल्यीटी’ भनिने यस्ता व्यक्तिले जोस र उमंगका साथ काम गर्न नसक्ने हुनाले ती असफल हुने ज्यादा संभावना हुन्छ ।

आशावादी हुनु भनेको जीवनका उज्याला पक्षहरूतिर हेर्नु हो । धेरै मान्छेहरू यसलाई जीवनको रणनीतिका रूपमा अंगिकार गर्छन् र ती कठिन अवस्थामा पनि आत्तिँदैनन् । ती सधैं खुसी हुन सक्छन् तर भन्न जति सजिलो हुन्छ, गर्न त्यो भन्दा धेरै कठिन तर असम्भवचाहिँ

हुँदैन । अल्बर्ट आइन्सटाइनले भनेका छन्- कठिन घडीको मध्यमा अवसर लुकेको हुन्छ । त्यसलाई सदुपयोग गर्नचाहिँ सक्नुपर्छ जसका लागि समय लाग्छ नै तर नकारात्मकतालाई पुरै बेवास्ता गर्नुको मतलव जीवनका, समाजका, राजनीतिका कठोर यथार्थहरूप्रति आँखा चिम्लनुचाहिँ होइन । चुरोट धेरै पिउने तर मलाई क्यान्सर हुँदैन भन्ने अयथार्थखालको आशावादितालाई भने त्याग्नुपर्छ ।

हाम्रो राजनीति, समाज र हाम्रा आफ्नै प्रवृत्ति भोलि नै परिवर्तन भइहाल्दैनन् । यसको मतलव हामीलाई निराश बनाउने यो वातावरण हटाउने गरी हामीले काम गरे पनि त्यसका लागि समय लाग्नेछ । आशा गरौं अर्को वर्षको जन्मदिन मेरी साथीले उल्लसित भएर मनाउनेछिन् । नयाँ संविधान बनिसकेको हुनेछ । हाम्रो राजनीतिले सही बाटो लिन थालेको हुनेछ र हाम्रो जीवन कम्तीमा खुसीको राजमार्ग भेट्ने सहायक मार्गमा यात्रा गरिरहेको हुनेछ ।